बामदेव गौतम भन्छन् -भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्दैन

काठमाडौं, पुस १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने ठोकुवा गरेका छन् ।

अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो ठोकुवा गरेका हुन् ।

उनले कृषिको उत्पादन बढाउन चक्लाबन्दी आवश्यक रहेको औंल्याउँदै भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तिको मूल्य तिरेर गर्नुपर्ने बताए ।

चक्लाबन्दी नगरे कृषिमा अन्य मूलु्कहरुसँग प्रतिस्प्रधा गर्न नसकिने साथै कृषिमा यान्त्रीकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने उनको भनाइ रहेको थियो । उनले खाद्य संप्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढाउनुमा जोड दिए ।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण गर्न पनि त्यतिकै जरुरी रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्