निधिलाई लिएर सभापति देउवा पौडेल निवासमा पुगे

काठमाडौं, २८ मंसिर । महाधिवेशन मिति तय विवाद चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

पार्टी कार्यालयमा दुई दिन अघि बसेको केन्द्रीय समिति बहिष्कार गरेका पौडेललाई भेट्न देउवा र निधि शनिबार बिहान पौडेल निवास बोहराटार पुगी पौडेलसँग छलफल अगाडि बढाएका हुन् ।

पौडेलले महाधिवेशनको कार्यतालिका अहिले नै सार्वजनिक गरेर जानुपर्ने र केन्द्रीय समितिमा छलफलको प्रस्ताव लैजानुपर्ने अडान लिँदै आएका छन् । विभाग गठनमा पनि पौडेलको असहमति छ यसले काँग्रेसमा आन्तरिक किचलो सुरु भएको छ ।

‘पार्टी सहमति र सहकार्यमा सञ्चालन गर्नेबारे छलफल भएको,’ पौडेलले बताएका छन्।

साथै पार्टी विभाग गठनमा पनि पौडेलको असहमति छ। सभापति देउवाले महाधिवेशनमा फाइदा उठाउने गरी चार वर्षे कार्यकाल सकिनै लाग्दा विभाग गठन गर्न खोजेको पौडेलको आरोप लगाउँदै आएको छ ।

सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गत बिहीबार बसेको केन्द्रीय समितिमा पेश गरेका थिए । आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुनेछ ।

छलफलमा भातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले कडा रुपमा अडान गरेका छन् । पौडेलले यी दुई भातृ संस्थामध्ये एक आफू पक्षले पाउनुपर्ने अडान राखेका छन ।

प्रतिक्रिया दिनुहोस्