सरकारले परिवर्तनको अनुभूति दिनुपर्छ : नेता नेपाल

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताएका छन्।

नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५औँ साधारणसभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आज कीर्तिपुरमा नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनःएकीकृत भएकाले यसको महत्व तथा जिम्मेवारी थप बढेको बताए ।

उनले भने , “पुष्पलालले पाँच जनाबाट शुरु गर्नुभएको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रूपमा विकास भएको छ । जनताको बढ्दो अपेक्षा र भरोसालाई पूरा गर्न सबै तहका सरकारले पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ ।

जनताका आकाङ्क्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो । यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि ठहर्छ ।”

प्रतिक्रिया दिनुहोस्