कैलालीबाट सात किलो चरेससहित ४ जना पक्राउ

काठमाडौं , मंसिर २६ । प्रहरीले कैलालीको अत्तरियाबाट सात किलो चरेससहित चारजनालाई पक्राउ गरेको छ । विशेष अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले अत्तरिया बजारबाट सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका- २ मा पर्ने बजार क्षेत्रको एक घरबाट कोठामा लुकाएर राखिएको अवस्थामा सात किलो चरेससहित चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

उनकाअनुसार प्रहरीले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ घर भई अत्तरियामा डेरा गरी बस्दै आएका ३२ वर्षीय जसमलसिंह ठगुन्नाको कोठाबाट चरेस बरामद गरिएको हो ।

नायब उपरीक्षक विष्टले ठगुन्नासँगै मार्मा गाउँपालिका-१ कै २५ वर्षीय उकिलसिंह ठगुन्ना, २७ वर्षीय जीवनसिंह ठगुन्ना र अपी–हिमाल गाउँपालिका– ४ का २४ वर्षीय हिक्मतसिंह धामीलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्