खेलकुद मन्त्रीको बर्खास्ती, खेलाडीलाई २५ लाख पुरस्कार दिन तरुण दलको माग

काठमाडौं , मंसिर २५ । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ ।

यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । तरुण दलले साग प्रतियोगितामा खेलकुद मन्त्रालय र खेलकुद परिषद (राखेप)ले भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा लेखिएको ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

खेलाडीहरुलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुको चाकरीका लागि राखेपले दौरा सुरुवाल उपलब्ध गराएको तरुण दलको ठहर छ ।

खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिएको भन्दै तरुण दलले स्वर्ण पदक जित्ने खेलाडीलाई पुरानो निजी साइकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पारिएको आरोप सलगाएको छ ।

खेलाडीलाई सुविधा दिनभन्दा दौरा सुरुवाल खरिद गर्न्तिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकताभन्दा बाहिरको निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्