नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, २३ मंसिर । कार्यकारी अधिकारप्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले अध्यक्ष एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि सचिवालय बैठक बोलाएका छन् । बैठक अपराह्न नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने छ । बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने भएको छ ।

स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाएका हुन् ।
नेकपा स्रोतका अनुसार, बैठकको अध्यक्षता गरे पनि प्रचण्डले एजेण्डाहरु ओलीलाई जानकारी गराएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै जनपरिचालनसहितको पाँचमहिने कार्ययोजनासमेत तयार पार्र्दै छन् । यसबारेमा पनि उनले ओलीसहित मुख्य नेताहरुसँग छलफल गरेका छन् ।

सोमबारको बैठमा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने एजेण्डा छ । अघिल्लो सचिवालय बैठकले उपनिर्वाचन भएका सबै ठाउँबाट समीक्षा रिपोर्ट मागेको थियो ।

उपनिर्वाचनको समग्र परिणाममा आधाभन्दा बढीमा जित हासिल भए पनि केही ठाउँको पराजयको समीक्षा आवश्यक रहेको नेकपाले जनाएको छ ।
भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको पराजयलाई नेकपाले समीक्षाको विषय बनाएको छ । त्यस्तै, चितवनको भरतपुर महानगरपालिकाको वडाध्यक्षको पराजय पनि नेकपालाई अप्रत्याशित बनेको छ । त्यहाँको हारबारे समीक्षा रिपोर्ट आएको छ । समग्र नतिजा भने नेकपाकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण हुन सकेको छैन ।

प्रचण्डले यसअघि माधव नेपाललगायतका नेताहरुसँग पनि परामर्श गरेका छन् । नेपालले भने पोलिटव्युरो गठन गर्न प्रचण्डलाई सुझाएका छन् ।
उपनिर्वाचन भएका ५२ स्थानमध्ये प्रतिनिधिसभा र प्रदेशसभाका एक–एक सिटसहित नेकपाले ३० ठाउँमा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्