सीमा विवाद : मोदीले दिएनन् समय, माधव नेपालको दिल्ली भ्रमण रोकियो

काठमाडौं , मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा विवादका लागि नेता नेपाललाई भारत पठाउने बताएका थिए तर यता भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि उनको दिल्ली भ्रमण रोकिएको छ ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न विशेष दूत बनेर दिल्ली जान लागेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भ्रमण तत्कालका लागि रोकिएको छ। भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो।

‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले समय दिएको छैन।’ मंसिर ४ गतेको नेकपा सचिवालय बैठकमा माधव नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने विषयमा छलफल भएको थियो। छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए।

यो विषयमा भारतीय पक्षले समय नदिएपछि बुधबारको सचिवालय बैठकमा माधव नेपालले ब्रिफिङ गरेका हुन्। नेकपा सचिवालय बैठकमा समय मिलाउने प्रयास भइरहेकको नेता नेपालले बताएका छन्।

नेपालबाट जाने विशेष दूतसँग भेटवार्ताको समयका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ। नेपाल भारत सीमा विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कात्तिक २३ गते सर्वदलीय बैठक गरेका थिए।

बैठकमा सबै नेताले राष्ट्रियताको विषयमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए। भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा परेपछि त्यसको विरोध भइरहेको छ।

सरकारले भने यो समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल सुरु गरेको हो। तर भारतीय पक्षबाट समएनदिएपछि नेता नेपालको भ्रमण रोकीएको छ । अब नेपालका नेताले कसरी यसको सामधान गर्ने हुन् भन्ने जिज्ञासा सबैमा छ ।

प्रतिक्रिया दिनुहोस्