प्रहरी हिरासतबाटै सातजना थुनुवा फरार

काठमाडौं । सिराहमा खाना खुवाउने क्रममा सातजना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षमा रहेका ११ जना थुनुवामध्ये खाना खुवाउने क्रममा सातजना फरार भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ खाना खुवाउने क्रममा उनीहरु फरार भएका हुन् ।

फरार हुनेमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन ।

यस्तै फरार हुनेमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन् । प्रहरीका अनुसार आठजना फरार भएकोमा वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय संजय यादवलाई भने पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।

यसैगरी थुनुवाहरुको बिभिन्न जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी ईकाईहरुबाट प्रहरी परिचालन गरी नाकाबन्दी समेत गरी खोजी कार्य सुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश नम्बर दुईका डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धानका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्