नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना सार्वजनिक
काठमाडौँ , मंसिर १३ । नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले धादिङको निलकण्ठ नगरपालिका ९ का मधुसुदन दवाडी, चितवनको रत्ननगर नगरपालिका १६ का अमृत खुर्सेली र ओखलढुंगाको रानीवन–७ का सविनकुमार तोलाङ्गीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
राजधानीको विभिन्न स्थानबाट पक्राउ परेकामध्ये दवाडीको साथबाट विभिन्न विद्यालय तथा कलेजको नक्कली प्रमाणपत्र बरामद भएको छ ।
यस्तै अमृतको साथबाट सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण हलचोकको स्पेशल टाक्स फोर्स, सुरक्षा तालिम, हतियार तालिम र विशिष्ट व्यक्तिको सुरक्षा तालिमको प्रमणपत्र फेला परेको सीआईबीले जनाएको छ ।
यस्तै विभिन्न व्यक्तिको नामको पासपोर्ट, नेपाल आर्मीले प्रदान गर्ने सिफारिस पत्र पनि बरामद भएको छ ।
यस्तै तोलाङ्गीको साथबाट प्रहरीले लेख्ने सिफारिस पत्र, नागरिकताको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ। उनीहरुको साथ नक्कली प्रमणपत्र बनाउन प्रयोग भएका प्रिन्टर, कम्प्युटर, लेटरप्याड लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्