बाराको निजगढ पुगेर प्रचण्डले भने – ठेकदारले काम नगरे म नै अनसनमा बस्छु

काठमाडौं, मंसिर १० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले समयमा विकास निर्माणको काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफैं आएर अनशन बस्ने बताएका छन् ।

नेकपा प्रदेश २ ले बाराको निजगढमा मंगलबार गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने निर्माण व्यवसायीविरुद्ध आफू अनसन बस्न पनि तयार रहेको उनले बताए ।

‘यदि ठेकदारले युद्धस्तरमा काम गर्दैन भने तिनलाई के कारबाही गर्नुपर्ने म सरकारलाई भन्छु । यदि सरकारले सुन्न गाह्रो पर्‍यो भने म नै अनसनमा बसेर भए पनि तपाईहरुको साथमा रहने छु’ उनले भने ।

मधेससँग आफ्नो लभ परेको दोहोर्‍याउँदै उनले लभरलाई दुख दिनेविरुद्ध आफैं लड्ने प्रचण्डले बताए । प्रचण्डले बारा, रौतहट, सर्लाहीका खेतमा पानीको अभाव हुन नदिने, सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिञ्चाई समस्या समााधान गर्ने पनि बताए ।

हुलाकी राजमार्गलाई निर्धा्रित समयमा निर्माण सक्न रकमको अभाव हुन नदिने पनि उनले बताए । तराई मधेसको जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै उनले यो प्रक्रियामा अवरोध आयो भने जनतासँग मिलेर आन्दोलन गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्