दाङबाट ब्राउन सुगर सहित ८ जना पक्राउ
काठमाडौं, मंसिर ८ । प्रहरीले दाङबाट ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बसपार्क क्षेत्रबाट र वडा नम्बर १३ को बाह्रकुने दह नजिकबाट शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहका अनुसार शनिवार राति साढे ११ बजे घोराहीको नयाँ बसपार्क क्षेत्रबाट ५ जना र अन्य ३ जनालाई दह नजिकबाट लागु औषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
बसपार्क क्षेत्रबाट पक्राउ परेकाहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का २१ वर्षीय विशाल पुन मगर, घोराही १४ बस्ने विशाल सिंह नेपाली सोही वडामा बस्ने महेश वली, आलोक डाँगी र घोराही १५ का प्रविण वली रहेका छन् ।
यस्तै, बाह्रकुने दहबाट शनिबार बेलुकी साढे ५ बजे पक्राउ परेकाहरुको साथबाट ३० ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । लागु औषध सहित पक्राउ पर्नेमा घोराही उपमहानगर १३ का २६ वर्षीय अविनाश थापा, बाफिकोट गाउँपालिका वडा नम्बर ७, रुकुम पश्चिमका शेरबहादुर खत्री र भुमे गाउँपालिका वडा नम्बर १ रुकुम पूर्वका २८ वर्षीय तपजीत घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।
लागु औषध सहित पक्राउ परेका ८ जनालाई जिल्ला प्रह्री कार्यालय दाङमा राखिएको छ । उनीहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ परिच्छेद ३ दफा २२ ग बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्