समाजवादीसँग तत्काल एकताको सम्भावना न्यूनः महतो

काठमाडौं, मंसिर ६ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजेन्द्र महतोले तत्काल एकताको सम्भावना न्यून रहेको बताएका छन् ।


समाजवादी पार्टीसँग राजपाले एकता गर्ने पटक(पटक अभिव्यक्ति फेर्दै राजपा नेपालका संयोजक महतोले समाजवादी पार्टीसँगको एकताको सम्भावना तत्काल शून्य रहेको उल्लेख गरेका हुन् ।


शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा पत्रकारको जिज्ञासामा अध्यक्ष महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि शुन्य भएको बताए ।

’देशमा कांग्रेस र कम्युनिस्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पुरा गर्न लागेका छौं, तर समाजवादी पार्टी सरकार नछोडेसम्म एकता सम्भावन छैन ।’ उनले भने ।

राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडी बढ्ने स्पष्ट पार्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण हुन नसक्ने भएकोले समाजवादीसँग तत्काल एकता असम्भव रहेको बताए ।

महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावना अनुरुप वैकल्पिक शक्ति निर्माण गर्नमा सहयोगको आग्रह गरे । उनले लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीसँग एकताको कुरा भइरहेको जानकारी दिए ।

मन्त्रीमण्डल पुनर्गठनको विषयमा सञ्चारकर्मीको प्रश्नमा महतोले भने, ’नजाने गाउँको बाटो किन सोध्ने, हामी सरकारमा छैनौँ, सरकार हाम्रो सरोकारको विषय पनि होइन, जो सरकारमा छन् उनैले जानोस् हामी प्रतिपक्षी दल हौं।’

महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताउँदै संविधान संशोधन, आन्दोलनकारी साथीहरु विरुद्धको मुद्दा फिर्ता लगायतका मागहरु सम्बोधन नभएसम्म सरकारलाई सहयोग गर्न नसकिने बताए ।

राजपा पहिले देखि नै सरकारको विरोध गर्दै आएको छ । सरकार भन्दा बाहिर रहेकाले पनि उसले सराकारको आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्