वैदेशिक रोजगारीलाई सहज बनाउँने नवनियुक्त श्रममन्त्री को प्रतिवद्धता

काठमाडौं , मंसिर ५ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति हटाउन पहल गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका यादवले वैदेशिक रोजगारीमा धेरै विसंगति रहेको र यसलाई हटाउन आफ्नो भूमिका रहने बताएका हुन् । वैदेशिक रोजगारी बन्द भन्दा पनि यसलाई सहज सरल बनाउने आफ्नो योजना रहेको बताए । उनले भ्रष्टाचारमा आफू कठोर हुने समेत प्रतिक्रिया दिए ।

आफ्नो मन्त्रालयको काम रोजगार दिलाउने पनि भएको भन्दै सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ पनि ध्यान दिने उनले बताए ।

‘वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति सम्पूर्ण हटाएर बाहिर जाँदा पनि गौरव गर्ने वातावरण बनाउन भूमिका खेल्नेछु’ उनले भने, ‘वैदेशिक रोगजारीका शिलशिलामा भ्रष्टाचार हुन दिन्न, तर सकेसम्म स्वदेशमै रोजगारी दिलाउने वातावरण बनाउने पनि मेरो योजना छ ।’

नवनियुक्त मन्त्री यादवले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्