राजपाको नेतृत्व अब राजेन्द्र महतोले सम्हाल्ने
काठमाडौं , मंसरि ४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको नेतृत्व अब राजेन्द्र महतोले सम्हाल्ने भएका छन् । बुधबार बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले बिहीबारबाट अध्यक्ष मण्डलको संयोजक नेता महतोले गर्ने निर्णय गरेको छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकबाट बिहीबारदेखि लागू हुने गरी महतोले संयोजकको जिम्मेबारी सम्हाल्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए । “२०७६ मंसिर ५ गतेदेखि राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेबारी राजेन्द्र महतोले सम्हाल्ने गरी निर्णय गरिएको छ,” उनले भने ।
बैठकले जिल्लाहरुमा विभिन्न तदर्थ समिति गठनका लागि २० दिनको म्याद थप पनि गरेको छ । राजपाले कात्तिक ८ गते जिल्लाहरुमा वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गर्न ‘तदर्थ समिति गठन निर्दे्शिका २०७६’ अनुसार कात्तिक ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने निर्दे्शिका जारी गरेको थियो ।
तर, निर्दे्शिकाअनुसार सबै जिल्लामा विभिन्न तदर्थ समितिहरु गठन हुन नसकेका कारण २० दिनको समयावधि थप गरिएको महासचिव झाको भनाइ छ । “केही ठाउँमा समस्या देखिएको छ । समस्या लोकतान्त्रिक विधिबाट समाधान गर्न २० दिनको समय थप गरिएको हो,” उनले भने ।
बैठकले जिल्लाहरुमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरुलाई मंसिर २५ गतेसम्म तदर्थ समितिको सम्पूर्ण काम सम्पन्न गर्न पनि निर्देशन दिएको छ । राजपाले उनीहरुलाई मंसिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा प्रतिवेदनसहित उपस्थित हुन पनि भनेको छ ।
“केन्द्रीय पर्यवेक्षकहरु आ–आफ्नो कार्यक्षेत्रमा गइ मंसिर २५ गतेसम्म गठन सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी गराई मंसिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकहरुको बैठकमा सम्पूर्ण कागजातसहितको प्रतिवेदन लिई केनद्रीय कार्यालयमा आउन सबै केन्द्रीय पर्यवेक्षकहरुलाई निर्देशन दिने निर्णय गरियो,” बैठकपछि अध्यक्ष मण्डलका संयोजक ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्