“कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो”, विरोधमा सबै नेपाली एकजुट हौंः नेता नेम्वाङ

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमणको विरोधमा सबै नेपाली एकजुट हुन आग्रह गरेका छन् ।

उनले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग समेत गरेका छन् ।


इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।


भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको उनले जनाकारी दिए ।


“कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो”, उनले भने, “यस सम्बन्धमा सङ्घीय सरकारले कूटनीतिक पहल थालिसकेको छ, भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।”
मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्वाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेकाले उनले त्यसका लागि जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्