भारतीय हस्तक्षेपका विरुद्ध नेविसंघको प्रदर्शन ,माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ , कात्तिक २५ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

भारतले आफ्नो नयाँ नक्सामा पारेको कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीले जुलुससहित प्रदर्शन गरेको हो ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडांैको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो विरोध प्रर्दशनलाई निरन्तरता दिएको हो ।

त्यस क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको सो विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन पनि सबैलाई अपिल गरिएको प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो ।

नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ ।

व्यवस्थापन क्याम्पस ईकाइको आयोजनामा निस्किएको र्यालीले नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ ।

संघका इकाइ सभापति अनिल खाँ र सचिव शेखर बुढाथोकीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेक जस्ता ऐतिहासिक भूभागलाई फिर्ता गर्न पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ ।

त्यस अवसरमा नेविसंघ सम्बद्ध विद्यार्थीले बरु अहिले रेल र पानी जहाज नचाहिएको बरु मिचिएको जग्गा फिर्ता गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका केन्द्रिय सदस्य मनोज बैद्यले बताए ।

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै काठमाडौंलगायतका देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्