उपनिर्वाचन : कांग्रेसले गर्यो अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन
काठमाडौं , कात्तिक २४ । मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।
समितिको सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन् ।
समितिले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना तथा प्रभावकारी कार्यान्वयन भएको वा नभएको र उपनिर्वाचन सुरक्षा व्यवस्थाबारे अनुगमन गर्नेछ ।
त्यस्तै उपनिर्वाचनको सुरक्षा व्यवस्थापन हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टीको उम्मेदवार र सदस्यहरुलाई चुनाव प्रचारमा परिचालन गर्ने, मतदातालाई मतदान गर्न प्रेरित गर्ने, स्वतन्त्र मतदान र मतगणना व्यवस्थित गर्ने लगायतको काम गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी समितिले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने, उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने पनि समितिले जिम्मेवारी पाएको छ ।
समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने मुख्य सचिव पौडेलले बताए । उनका अनुसार समितिले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेर आवश्यक निर्देशन दिने पनि जानकारी दिए ।
समितिले उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानुन र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानुन वा आचारसंहिता उल्लंघन भएमा उचित कानुनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्