कालापानी सीमा विवाद : प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाण्डौ , कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि यस अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।


प्रधानमन्त्री ओलीले शुक्रबार साँझ भारतले आफ्नो नक्सामा राखेको दार्चुलाको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार ४ बजे सर्वदलीय बैठक आह्वान गरेको उनकाप्रेस संयोजक चेतन अधिकारीले बताए ।

‘सीमाका बारेमा आएका विषयको पछिल्लो परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले शनिबार दिउँसो ४ बजे सबै राजनीतिक दलका प्रमुखहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको छ’, अधिकारीले भने, ‘पूर्व परराष्ट्र मन्त्रीहरू पनि बैठकमा सहभागी हुनुहुनेछ ।’

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि नेपालमा त्यसको विरोधमा चर्को प्रदर्शन भैरहेको छ । विभिन्न राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन र सरकारले नै भारतीय कदमको विरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै भारतले एकपक्षीय रुपमा सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्