नेविसंघद्वारा भारतीय दूतावासमा ज्ञापन पत्र, उता बैतडीमा मोदीको पुत्ला दहन

काठमाण्डौं, कात्तिक २१ । नेपाल विद्यार्थी संघले भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ । नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार दूतावासमा ज्ञापन पत्र बुझाएको हो ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाण्डौको लैनचौरमा रहेको भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउने क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

कालापानीलगायतका नेपाली भूमि समावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दूतावास अगाडि विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो ।


यसैबीच आज पनि विभिन्न ठाउँमा नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै प्रदर्शन भएको छ । भने यसको सर्वत्र आलोचना भइरहेको छ ।

मोदीको पुत्ला दहन


बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।

भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुत्ला दहन गरेको त्यहाँवाट राजेश धामीले जानकारी दिए ।

‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै उनीहरुले पुत्ला दहन गरेका थिए ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक,कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ ।

भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कुटनितिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ ।

भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् ।

भारतले नेपाली भूमी आफ्नो नक्सामा समेटेपछी देशका अधिकांस स्थानमा बिरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्