उपचुनाव: कास्की– २ बाट विद्या र खेमराजले गराए उम्मेदवारी दर्ता

काठमाडौं , कात्तिक २१ । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा प्रमुख सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सरकारमै रहेको समाजवादी पार्टी तथा साना दलहरू साझा, विवेकशील लगायतका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

तत्कालीन पर्यटन मन्त्री समेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

नेकपाका तर्फबाट रवीन्द्रपत्नी विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । उनको उम्मेदवारीलाई कृष्णबहादुर थापाले प्रस्ताव र प्रभा कोइरालाले समर्थन गरेका छन् ।

कांग्रेसका तर्फबाट खेमराज पौडेलले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि पौडेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग निकाल्दै आफूले चुनाव जित्ने दाबी गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कास्की २ मा दुई स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ ।

दलगत रूपमा नेकपा र कांग्रेसका अलावा समाजवादी पार्टी, राप्रपा, साझा पार्टी, विवेकशील नेपाली पार्टी, देशभक्त समाज लगायतले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अघिल्लो चुनावको नतिजालाई आधार मान्ने हो भने कास्की ( २ मा नेकपा र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन् ।

वाम गठबन्धनका तर्फबाट तत्कालीन एमाले उम्मेदवार रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्दा कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।

अन्य उम्मेदवारले प्राप्त गरेको मत उनीहरूको आसपास पनि थिएन ।

प्रतिक्रिया दिनुहोस्