पछिल्लो समय बाँके र बर्दियामा बाघको आक्रमण बढ्दै, स्थानीयवासी त्रसति
काठमाडौं, कात्तिक २१ । पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढ्दै जान थालेको छ ।
बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरुले बताएका छन् ।
बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताए ।
निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढ्दै जान थालेको छ ।
अधिकांशले अकालमै ज्यान गुमाइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् ।
देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुले गर्ने आक्रमण न्यूनीकरणका लागि सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्