डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या, सरकारनै यस्तो समस्यामा भोग्न बाध्य
काठमाडौं, कात्तिक १९ । डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको सम्स्या रहँदै आएको छ । हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा त्यहाँका स्थानीयले पाउन सकेका छैन ।
विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै यस्तो समस्यामा भोग्न बाध्य भएको छ ।
यहाँका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन। जिल्लाका अन्य स्थानीय तहभन्दा विकसित मानिने त्रिपुरासुन्दरी नगरपालिकामै विद्युत् र सञ्चारको चरम समस्या देखिन्छ। नगरपालिकाअन्तर्गत वडा नं ३ र ४ मा पर्ने जीउ, सुँ र रङ गाउँमा एक दिन पालो पर्खेर छिकेकी नगरपालिकाको विद्युत् सेवा लिनुपर्ने बाध्यता छ।
केहि वडाका नागरिक वर्षौअघिदेखि अन्धकारमा बस्न बाध्य छन् ।पालङ गाउँमा बनेको खातीखोला जलविद्युत् अवरुद्ध भइराख्ने र मर्मतका लागि कसैले चासो नदिने भएकाले जनता अहिले पनि अन्धकारमै रहेको स्थानीय मोती उपाध्यायले बताए ।
पटक–पटक अवरुद्ध भइराख्ने भएकाले टेलिफोन टावरको हालत पनि विद्युत्को जस्तै रहेकाले फोनमा राम्रोसँग कुरै गर्न नपाइने उनले सुनाए । यसैबीच नगरपालिका कार्यालय नै सञ्चारविहीन बन्न पुगेको छ ।
अहिलेको युगमा पनि लाजमर्दो कुरा नगरपालिका कार्यालयमै टावर टिप्दैन तर पनि यसमा नगरपालिकाको ध्यान गएको देखिदैन । नागरिक वर्षौंदेखि फोनको समस्या झेल्न बाध्य छन् ।
नगरपालिकाले नै प्रयोग गर्ने विद्युत्को हालत नाजुक भइसक्दासमेत सुधारका लागि कसैले चासो नदिएको स्थानीयवासीले बताएका छन् ।
यसैगरी सदरमुकाम दुनैसहित जोडिएको ठूलीभेरी नगरपालिकाको जैरीगाड जलविद्युत् आयोजनाको भर छैन । वर्षमा दर्जन धेरै पटक अवरुद्ध भइराख्ने भएकाले अधिकांश समय नागरिक अन्धकारमै बस्ने गर्दछन् । नहर निर्माण गरिएको भूगोल कमजोर भएकाले सुक्खा पहिरोले बारम्बार विद्युत् अवरुद्ध गर्ने गर्छ।
स्थानीय प्रदेश हुँदै केन्द्रसम्म नगरप्रमुख, सांसददेखि मन्त्रीसम्म भए पनि विद्युत्को अवस्था सुधारका लागि कसैको पनि ध्यान नगएको दुनैका स्थानीयवासीको गुनासो छ ।यता तल्लो डोल्पाअन्तर्गत पर्ने जगदुल्ला मुड्केचुला गाउँपालिकामा पनि विद्युत् र सञ्चारको चरम समस्या रहेको छ ।
यता उपल्लो डोल्पाका स्थानीय तहमा सञ्चारको समस्या समाधान भएको छ । उपल्लो डोल्पाका फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ् गाउँपालिकामा विभिन्न ठाउँमा नमस्तेका मोबाइल टावर निर्माण भएपछि वर्षौंदेखिको टेलिफोन असुविधा हटेको हो ।
सञ्चारको सुविधा सुधार भए पनि विद्युत्को समस्या भने जिउँका तिउँ रहेको छ। उपल्लो डोल्पाका कुनै पनि स्थानीय तहमा विद्युत्को सुविधा छैन । विद्युत् नभएपछि सम्पूर्ण नागरिक सोलारको भरमा रहेका छन्।
यस समस्याको सामाधान गर्न तर्फ कसैको ध्यान गएको छैन । त्यहाँका स्थानीयलाई उज्यालो र सञ्चारको युगमा ल्याउन नगरपालीका तथा अन्य निकायले पनि ध्यान दिन जरुरी रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्