उपनिर्वाचन : दलहरू आन्तरिक रणनीति तय गर्न व्यस्त
काठमाडौँ , कात्तिक १९ । आगामी मङ्सिर १४ गते भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दल निर्वाचनको आन्तरिक रणनीति तय गर्न व्यस्त भएका छन् । दलहरू आ–आफ्नो दलका उम्मेदवार जिताउन आन्तरिक रणनीतिमा लागेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जिल्ला कार्य समितिले आकाङ्क्षी उम्मेदवारको नाम छनोट गरी केन्द्रमा पठाए पनि दुवै पार्टीका केन्द्रीय कमिटीले भने उम्मेदवारको टुङ्गो लगाएका छैनन् । डेढ वर्षअघि तात्कालीन नेकपा (एमाले)बाट निर्वा्चित प्रदेश सभा सदस्य हरिशरण लामिछानेको हृदयाघातका कारण निधन भएपछि सो क्षेत्र रिक्त हुन गएको थियो ।
नेकपा जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले आफ्नो पार्टीले निर्वाचन जित्नेमा दुईमत नभएको दाबी गर्दै अहिले जिल्ला कमिटी निर्वाचनको आन्तरिक रणनीतिमा जुटेको जानकारी दिए । नेकपा भक्तपुरमा देबिप्रसाद ढकाल उमेद्वार बनेका छन् ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिका सभापति दुर्लभ थापाले यस क्षेत्रमा उपनिर्वाचन हुने निश्चित भएकाले पार्टीले ६ महिना अगाडिदेखि निर्वाचन लक्षित कार्यक्रम गर्दै आएको दाबी गरे।
अध्यक्ष थापाले पार्टी जिल्ला कार्य समितिले १० जना उम्मेदवारको नामावली केन्द्रमा पठाए पनि एक जनाले मात्र टिकट पाउने भन्दै भने, “टिकट नपाउने बाँकी नौ जनालाई नै निर्वाचन परिचालन समितिमा राखी निर्वाचन जित्ने गरी अभियान अगाडि बढाउँछौँ । ”
नेपाल मजदुर किसान पार्टी जिल्ला कमिटी भक्तपुरका अध्यक्ष न्हुँछेभक्त फोजुले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने भएकाले अहिले पार्टी निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेको बताए ।
प्रतिक्रिया दिनुहोस्