सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ : मृगौलाले काम गर्न छोड्यो, अब नियमित डायलासिस गराउनुपर्छ

काठमाडौं , कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौलाले राम्रोसँग काम नगरेको बताएका छन् ।

पार्टीको शनिबार (आज) बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मृगौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस र प्रत्यारोपण विकल्प भएको बताएका हुन् ।

‘मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि शरीरमा पानी, क्रेटिनिन, युरिनजस्ता पदार्थको मात्रा बढेको छ । अब नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प छ, अहिलेचाहिँ नियमित डायलासिस नै गर्ने उहाँको कुरा छ,’ प्रधानमन्त्रीले स्वास्थ्यका बारेमा गरेको ब्रिफ्रिङ सचिवालयका एक सदस्यले भने ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले केही रिपोर्ट आउन बाँकी रहेकाले नियमित डायलासिस अथवा प्रत्यारोपणको विकल्प रोजिने बताएका जानकारी दिए ।

प्रधानमन्त्रीको गत बुधबार ग्राण्डीमा पहिलो चरणको डायलासिस गरिएको थियो । बिहीबार दोस्रो चरणको डायलासिस गरिएपछि शनिबार वा आइतबार तेस्रो चरणको डायलासिस गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

१२ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसयता नियमितजस्तो स्वास्थ्य जाँच गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्