नेकपाले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने
काठमाडौँ , कात्तिक १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ ।
मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेकपाले उम्मेदवार घोषणा गर्ने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफलमात्रै भएको उनले बताए । उनका अनुसार आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिने भएको छ ।
३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आउन एक महिना पनि समय बाँकी नहुँदा प्रमुख दलहरुले भने उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरेका छन् । उम्मेदवारीकै विषयमा छलफल गर्न काँग्रेसले पनि आइतबार नै पदाधिकारी बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्