छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउँछ : प्रधानमन्त्री ओली

काठमाण्डौ ,कात्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् ।

छठ पर्वको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रूपमा स्मरण गरेका छन् । ‘यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘यो सम्पूर्ण सृष्टिप्रति सर्वा्धिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।’

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताउनुभभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘छठ पर्व सूर्यको आराधना र प्रार्थना गरेर मनाउने तथा सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालो र सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ ।’

छठ पर्वमा खासगरी सूर्यलाई भगवानको रूपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा सूर्यलाई नवग्रहकै उत्पत्तिकर्ता, सृष्टिकै उत्पन्नकर्ता तथा आदिदेवको रूपमा सम्झना गरिने उल्लेख गरेका छन् ।

उनले स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्तगरेका छन् ।

प्रतिक्रिया दिनुहोस्