नियन्त्रणबाहिर भाइरल प्रकोप , मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । जाजरकोटमा तीन सातायता जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल ज्वरोले १३ जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले मंगलबार जुनीचाँदे ३, रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारी र २ नम्बर वडाका २ वर्षीय नवीन नाथको ज्यान गएको छ । यसअघि जुनीचाँदे २ का १० दिने शिशु मनोज तिरुवा, ३ महिनाकी रेबना नाथ, १ महिनाका धीरेन्द्र शाही, ७० वर्षीया आइती तिरुवा, ५५ वर्षीया धनसरा नाथ, ७९ वर्षीय शतरूप शाही, १ महिने बालक खडक परियार, २ हप्ते शिशु रमेश शाही, खडकबहादुर शाहीका छोरा ७ दिने नाम नखुलेका शिशु र ३ नम्बर वडाका ५४ वर्षीय करसिंह टमटा र वडा ५ की ६५ वर्षीय कालु तिरुवाको मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपाली भने भाइरलका कारण जुनीचाँदेमा ३ जनाको मात्र मृत्यु भएको बताउँछन् ।

अन्य १० जनाको दम, पखाला, निमोनियाँ, छातीको इन्फेक्सनलगायत कारण मृत्यु भएको उनले बताए । ज्वरोको लक्षण नदेखिए भाइरलको बिरामी हुन नसक्ने उनको भनाइ छ तर जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी भने ३ सातायता मृत्यु भएका सबै भाइरल ज्वरोकै बिरामी भएको बताउँछन् । जिल्ला स्वास्थ्यले झूटो विवरण सार्वजनिक गर्ने गरेको उनको आरोप छ ।

कार्यालयले भाइरल रोग कुन प्रकृतिको भन्नेसमेत पत्ता लगाउन नसकेको अध्यक्ष केसीले बताए । जुनीचाँदेमा फैलिएको भाइरल नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्