भक्तपुरमा साझा पार्टीले बनायो २८ वर्षीय सुरज प्रधानलाई उम्मेदवार
काठमाडौं, कात्तिक १४ । साझा पार्टीले भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा १ का लागि सुरज प्रधानलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।
साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको निर्णय अघि सारेको हो ।
आउँदो मसिंर १४ गते हुने उपचुनावका लागि भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझाले भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बिहीबार पत्रकार सम्मेलनमार्फत साझाले प्रधानलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान इँटा उत्पादनको व्यवसाय गर्छन ।
पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्ने प्रधानले बताएका छन् । निर्वा्चित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने पनि प्रधानले उल्लेख गरे ।
तत्कालीन नेकपा एमालेबाट निर्वा्चित प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधनपछि भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव हुन लागेको हो । २०७५ साल वैशाख ३१ गते मष्तिस्कघातका कारण लामिछानेको निधन भएको थियो ।
यसैबीच साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आगामी उपनिर्वाचनमा आफ्नो दलले विजय हासिल गर्ने दावी गरेका छन् ।
बिहिबार दलको पार्टी कार्यालय बखुन्डोलमा भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ का लागि उम्मेद्धवार घोषणा कार्यक्रममा बोल्दै उनले अन्य दलको विकल्पमा रुपमा आफ्नो दल रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्