गच्छदार भन्छन्- एक मधेस एक प्रदेश हुन सक्दैन
काठमाडौं , कात्तिक ९ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेस एक प्रदेश’मा जान नहुने बताएका छन् ।
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभदीपावली, नेपाल संवत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिबार आयोजित ‘शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा’ कांग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए ।
उनले भने–‘मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेस हो । मधेसभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।’
आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागिपरेको बताए ।
रासससँग विशेष कुरा गर्दै गच्छदारले भने–‘यस पार्टीमा रहेर महँगी र भ्रष्टाचारलगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु ।’
गत चुनावमा नेपाली कांग्रेसले हार व्यहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए ।
गच्छदारले नयाँ युवापुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उनीहरुको योगदानलाई बिर्सनु नहुने बताए । देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छदारको भनाइ थियो ।
गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्