प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीच भेटवार्ता

काठमाडौं , कात्तिक ९ । भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम)को १८औँ शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको हो ।

शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेको भन्दै राष्ट्रपति मदुरोलाई धन्यवाद दिएका थिए । उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको जनाएको छ ।

शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि शुक्रबार नै भेटवार्ता भएको छ । सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो ।

यसैबीच प्रधानमन्त्री ओली असंलग्न आन्दोलन (नाम)को १८औं शिखर सम्मेलनका सहभागीहरुको सम्मानमा आयोजित रात्रिभोजमा पनि सरीक भएका छन् । अजरबैजानका राष्ट्रपति इलहाम एलिएभले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा भोज आयोजना गरेका हुन् ।

नाम सम्मेलन शुक्रबारै राजधानी बाकुको बाकु कन्भेन्सन सेन्टरको अडिटोरियममा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्