बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालकसहित ४ जना पक्राउ

काठमाडौं, कात्तिक ५ । सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गरेका हुन् । आक्रमणमा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका छन् ।


घाइतेमध्ये गौरा अचेत छिन्। गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

प्रहरीका अनुसार घटनामा अन्य ८ जना घाइते भएका छन्। स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन्।

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो। सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।

इता प्रहरीले डोजर चालकसहित चार जनालाई पक्राउ गरेको छ ।

सडक निर्माणका विषयमा गाउँलेबीच विवाद हुँदा डोजरले एक स्थानीय महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन्। डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।


बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ। झडप गर्ने दुवै पक्षका गरी अन्य तीन जना पनि पक्राउ गरिएको भए पनि नाम भने खुलाइएको छैन।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसरी एकाएक डोजर चलाउदा स्थानीय आक्रोसित भएका छन् । पक्राउ परेका माथि कडा भन्दा कडा कारबाही गर्न उनीहरुले माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्