छिमेकीमाथि खुकुरी प्रहार, एकको मृत्यु, दुई घाइते

काठमाडौं, असोज ३० । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।


खुकुरी प्रहारबाट पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं ३ जलजलेम खस्थानीय ५० वर्षीया महिला सन्तमाया लोको मृत्यु भएको हो ।


गए राति बकैया गाउँपालिका– ३ जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी सन्तमायाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको हो ।

सैबिच मृतकका श्रीमान् ५५ वर्षीय कालबहादुर लो र छिमेकी २६ वर्षीया देवीमाया मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेको टाउको, निधारमा चोट रहेको र घाइते दुवैको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले गए राति नै हतियारसहित पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।


उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्