बाल विवाह गराउने पण्डितसहित सात जना पक्राउ

काठमाडौं, असोज २९ । सल्यानमा बाल विवाह गराउने पण्डितसहित सात जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको कपुरकोट गाउँपालिका वडा नंं. ५ जामुनेबाट दुलाहा–दुलही, उनीहरुका आमा–बुवा र विवाह गराइदिने पण्डितसहित सात जनालाई मंगलबार पक्राउ गरि हिरासतमा राखेको छ।

स्थानीय सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत १४ वर्षीया किशोरी र सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १५ वर्षीय किशोर प्रेममा परेपछि आइतबार भागेका थिए ।


सोमबार उनीहरु आफन्तकोमा बसे। त्यसपछि दुबै पक्षका अभिभावले सल्लाह गरेर उनीहरुको औपचारिक रुपमा धुमधाम पूर्वक विहे गरिदिने योजना बनाए। सबैको सल्लाह बमोजिम पण्डित बोलाएर मंगलबार दिउँसो हिन्दुपरम्परा अनुरुप दुबैको विवाह भएको थियो ।

प्रहरीलाई त्यसको सूचना स्थानीयले दिए। लगत्तै कपुरकोट प्रहरी गएर बेहुला–बेहुलीसहित उनीहरुका आमा–बुवा र विहे गराउने पण्डित समेतलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक उमाकान्त जोसीले मंगलबार बेलुका साढे ६ बजेतिर उनीहरु सबैलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकाहरुविरुद्ध मंगलबार नै म्याद थप गरिसकिएको छ। उनीहरुविरुद्ध बालविबाह सम्वन्धी मुद्दा दर्ता गरेर कानुनी कारवाहीको प्रक्रिया सुरु भइसकेको प्रहरी निरीक्षक जोसीले जानकारी दिए।

पक्राउ परेका सातै जनालाई म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केहि दिन अगाडी पनि सल्यानमा यस्तै बालबिबाहा गराउने जोडिलाई प्रहरीले कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्