कांग्रेस सांसद अफताव आलम पक्राउ
काठमाण्डौ , असोज २६ । सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई आइतबार बिहान रौतहटको राजपुर फरदवा गाउँपालिका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०६४ चैत २७ राति भएको बम विस्फोटमा संलग्न भएको अभियोगमा आलमलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बम विष्फोटमा परेका आठजना अझै सम्पर्क्विहीन छन् ।
सर्वोेच्च अदालतले पक्राउ गर्न आदेश दिएकाले आलमलाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।
रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्