निर्माणधीन झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु

काठमाडौं म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा निर्माणधीन झोलुंगे पुलबाट खसेर दुई मजदुरको मृत्यु भएको छ । निर्माणधीन अवस्थामा रहेको पुलबाट खस्दा कैलालीको महोन्याल गाउँपालिका –५ का धनबहादुर क्षत्री र सोही गाउँपालिकाका ४ का पुरन थापाको मृत्यु भएको हो ।
वेगखोलाको बेग र बादुक गाउँलाई जोड्ने बेगखोलामा नेपालकै अग्लो र लामो झोलुंगे पुल तीन महिनादेखि निर्माणाधीन रहेको छ । निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बाँदुक तर्फबाट बास बस्न फर्कने हिजो साँझ चिप्लिएर उनीहरु पुलबाट खसेका थिए । त्यसको एकघण्टापछि १ सय ५० मिटर तल खोला किनारमा उनीहरुको शव भेटिएको वडाअध्यक्ष बिलबहादुर फगामीले बताएका छन्।

प्रहरी निरीक्षक सन्तोष रोकाले पोष्टमार्टमका लागि मृतकका शव जिल्ला अस्पताल बेनीमा राखिएको जानकारी दिए । कैलालीबाट आएका आफन्तहरुलाई आज शव जिम्मा लगाउने तयारी भएको प्रहरी निरीक्षक रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्