छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु
काठमाठौं, असोज ५ । रुपन्देही, सर्लाही, सुनसरी, दोलखा, काठमाडौं र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रुपन्देही तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित सडक खण्डमा लु२२प २०५७ नम्बरको स्कुटर शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका ९ का ४० वर्षीय प्रेमबहादुर थापाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ।
सर्लाही मलंगवा नगरपलिका(२ स्थित सडकमा बिआर३०यु ४११२ नम्बरको मोटरसाइकल शनिबार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ३ वस्ने २४ वर्षीय अजय राउतको घटनास्थलमै मृत्यु भएको छ। सामान्य घाइते भएका चालकलाई जिल्ला अस्पताल मंलगवा पठाइएको छ।
सुनसरी धरान उपमहानगरपालिका १३ जीरो प्वाइन्टस्थित कोसी राजमार्गमा ना७ख १८२५ नम्बरको ट्रकले र को३१ प ३०३४ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही स्थानका २७ वर्षीय सविन राईको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दोलखा बिगु गाउँपालिका ८ झोरुम साँवास्थित सडकमा बाटो मर्मत गर्ने क्रममा अनटेष्ट लेखिएको जेसिबीले सोही गाउँपालिका ५ चिलंखा घर भएका सोही ठाउँमा होटल गरी बस्ने रमेश खड्काका छोरा ४ वर्षीय रोजन खड्कालाई शनिबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। जेसिबी चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित सडकमा बा७३प ७४८८ र बा९८प ७२०४ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठोक्किँदा गम्भीर घाइते भएका बा७३प ७४८८ नम्बरको मोटरसाइकलमा सवार दोलखा मेलुङ गाउँपालिका(३ घर भई जोरपाटी दक्षिणढोका बस्ने २५ वर्षीय नवीन तामाङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको छ। दुबै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चितवन भरतपुर महानगरपालिका २९ भतेरीस्थित सडकमा ना४ख २६०७ नम्बरको बसले आइतबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पैदलयात्रीको उपचारको लागि जिल्ला अस्पताल भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्