बागेश्वरी मन्दिरको सम्पत्ति सार्वजनिक: ८४ विघा जग्गा व्यक्तिको नाममा, कसरी गयो ?
काठमाडौं, असोज ५ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिगाहा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिगाहा १० कठ्ठा १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने पत्ता लगाउन नसकेको हो।
समितिले शनिबार पत्रकार सम्मेलन गरेर मन्दिरको सम्पत्ति सार्वजनिक गर्दा ८४ बिगाहा जमिन कानुनतः हो कि अवैधानिकरूपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको जनाएको छ।
२०२७ पुस १३, २०२८ कात्तिक १४ र २०५७ असोज १७ गतेको निर्णयअनुसार बागेश्वरीको नाम कठ्ठा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिगाहा जमिन करिब ३ सय जनाको नाममा नामसारी भएको छ।
महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानूनी सल्लाहकार लोकबहादुर शाहले जानकारी दिए।
यो बाहेक मन्दिरसँग खजुराखुर्दमा तीन विगाह १६ कठ्ठा, मन्दिर परिसरमा एक विघा १८ कठ्ठा, परसपुरमा तीन कठ्ठा एक धुर जग्गा रहेको छ।
गुठी व्यवस्थापन समितिका अनुसार, २०७६ असारसम्ममा २१ लाख १० हजार १ सय ६५ रुपैयाँ बैंक खातामा रहेको छ। त्यो बाहेक १२ लाख रुपैयाँ फिक्स डिपोजिट रहेको छ। समिति आउनुअघि १६ लाख ३८ हजार ७ सय ९६ रुपैयाँ खातामा थियो भने १७ लाख ८ हजार एक सय २३ रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी थियो।
मन्दिरमा रहेको दुई वटा तिजौरीमा ‘गहना र पैसा’ रहेको हल्लाकाबीच मालपोत कार्यालयमा लगेर २०७४ फागुन ३० गते खोल्दा २० किलो ३ सय चार ग्राम चाँदी र दुई तोला जति सुनका गहना फेला परेका थिए। त्यो नेपाल बैंक लिमिटेडको लकरमा राखिएको छ।
नयाँ समिति आइसकेपछि मन्दिरमा सुनको आखिया, नथुनी २र२ थान, तार र बिन्दिया एकरएक थान, तिलहरी चार थान प्राप्त भएको छ। त्यस्तै, चाँदीका छत्तर ६ थान, आखिया २ थान र पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मूर्ति र चाँदीको बिन्दिया एकरएक थान जम्मा भएका छन्।
समितिले सटर, पसल, बोटिङ सञ्चालन गरेर आयस्रोत बढाएको छ अस्थायी फूलप्रसादी पसलको भाडा, पक्की सटरको भाडा, नयाँ निर्माण हुने सटरको भाडा, बोटिङ सञ्चालन, दानपेटिका, मालपोत, दान दक्षिणालाई व्यवस्थित गरेर मन्दिरको आयस्रोत बढाएको समितिले जनाएको छ।
मन्दिरमा खुला दर्शन, विवाह, व्रतवन्ध, पञ्चवली, विशेष पूजा, बली, सवारीसाधन पूजामा आउने रकम व्यवस्थापन समिति र महन्तले कसरी बाँड्छन् भन्ने पनि बाहिर ल्याइएको छ।
प्रतिक्रिया दिनुहोस्