अप्राकृतिक गठबन्धनबाट बनेको यो सरकार ढली हाल्छ: पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौं,१ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत गरे ।
सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा प्रचण्डले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको, सत्ता साझेदार कांग्रेसभित्रै असन्तुष्टि रहेको र अलोकप्रिय काम गरेकाले ढल्ने निश्चित भएको जिकिर गरे । अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्छनै त्यसका लागि हामीले खासै बल गर्नुपर्दैन । यसको आयु छैन, प्रचण्डले भने ।
मैले मितिनै त तोक्न सक्ने कुरा भएन तर पनि सबै घटनाक्रम तपाईंहरुले जे देखिराख्नु भाछ नेपाली कांग्रेस भित्रै सरकारप्रति जबर्जस्त असन्तुष्टि, धेरै नेताहरुको, संस्थापनमै भएका नेताहरुको पनि असन्तुष्टि बाहिर आइ नै सकेको छ ।
पछिल्लो घटनाक्रमलाई गम्भीर रुपले हेरिरहेको भन्दै प्रचण्डले सरकार गिराउने र सत्तामा जाने खेलमा पार्टी भने नलागेको जिकिर गरे ।
नेकपा माओवादी केन्द्र अहिले नै सरकार गिराउने, तुरुन्तै सरकारमा जाने भनेर एक्सरसाइज गरेका छैनौं । तपाईंहरु प्रष्ट हुनुहोला । हामी अहिले जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छौं । उनले भने, ‘स्थानीय तहदेखि नै भेला सम्मेलन भैराख्या छन् । र जनताले त्यसलाई राम्रो पनि मानिरहेका छन् । हामीले पनि रिल्याक्स गर्या छौं ।’ उनले आफूले प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्