आज पनि सेयर बजारमा हरियाली कायमै

काठमाडौं , असोज १ ।आज पनि सेयर बजारमा हरियाली कायमै रहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको एक वाक्यले सेयर बजारमा हरियाली कायमै रहेको हो ।

कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले सेयर बजारमा लगानी बढाउन अनुकूल समय रहेको बताएका थिए ।

“राजनीतिक स्थायित्वका कारण मुलुकको आर्थिक गतिविधि बढेको र बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि वृद्धि भएकाले सेयर बजारमा लगानी बढाउने अति अनुकूल समय हो,” अर्थमन्त्री डा. खतिवडाले भनेका थिए । मन्त्री खतिवडाको यहि वाक्यले लामो समयदेखि तिव्र रुपमा ओरालो लागेको सेयर बजार मंतलबारदेखि ह्वातै बढेको छ ।

साताको चौथो दिन (बुधबार) सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२ अंकको सुधार आएको छ । आज नेप्से २२.६८ अंकले बढेर १ हजार १ सय ७३.४२ अंकमा पुगेको हो । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि ४.१३ अंकले बढेर २ सय ५५.७० अंकमा पुगेको छ ।

आज बजारमा १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता सेयर ४७ करोड ६८ लाख ३३ हजार ८४७ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ट्रेन्डिङ समूह स्थिर रह्यो भने अन्य सबै उपसूचक उकालो लागे ।

आज सेयर बजारमा शिवम् सिमेन्टको सेयर कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ६ करोड २४ लाख २७ हजार ७९३ रुपैयाँमा कारोबार भएको हो ।

यस दिन सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वा्धिक कमाए । कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी, कर्णाली विकास बैंकका लगानीकर्ताले सर्वा्धिक ४.५४ प्रतिशत सेयर मूल्य गुमाए ।

प्रतिक्रिया दिनुहोस्