निरन्तर ओरालो लागेको सेयर बजारमा मंगलबार एकाएक उछाल

काठमाडौं , भदौ ३१ । केही दिन यता निरन्तर ओरालो लागेको बजारमा मंगलबार एकाएक उछाल आएको छ । अप्रत्याशितरुपमा नेप्से परिसूचक २६.९१ अंकले बढेपछि लगानीकर्ताले राहत अनुभव गरेका छन् ।

अघिल्लो साता ३१ अंकले घटेको नेप्से यस साताको आइतबार र सोमबार दुबै दिन दोहोरो अंकले खस्केको थियो । तर, मंगलबार अकस्मात बजारमा बहार आउनुलाई लगानीकर्ताले अर्थमन्त्रीले गरेको भाषणसँग जोडेर हेरेका छन् ।

निरन्तर घटेको पुँजी बजारमा मंगलबार चमक देखिएको हो । नेप्से सूचक र कारोबार रकम दुवैमा तेजी आएको छ । साढे ३ महिना भन्दा बढी अवधिसम्म बजार लगातार तल झर्दा लगानीकर्ता निराश हुन पुगेका थिए । तर मंगलबार चमक आउँदा थोरै भए पनि लगानीकर्तालाई राहत मिलेको छ ।
साताको तेस्रो दिन आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा २६ अंकको सुधार आएको छ । आज नेप्से २६ अंकले बढेर १ हजार १ सय ५०.७४ अंकमा पुगेको हो । सेन्सिटिभ इन्डेक्स्ट पनि ५.२२ अंकले बढेर २ सय ५१.५७ अंकमा पुगेको हो ।

नेप्सेमा दोहोरो अंकको सुधार आउँदा बजारमा १७१ कम्पनीका १३ लाख ७७ हजार ९४० कित्ता सेयर ३८ करोड ३९ लाख ५७ हजार ४२६ रुपैयाँमा कारोबार भए । यस दिन बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसुचक सामाजिक लगानी कोषको कारोबार झिनो रुपमा ओरालो लाग्यो भने बाँकी सबै समूह उकालो लागे । जसमध्ये उत्पादनमूलक समूह सर्वा्धिक १०७.१ अंकले उकालो लाग्यो ।

बजारमा सिद्धार्थ बैंकको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ४९ लाख ७७ हजार ३६० रुपैयाँमा कारोबार भएको हो । यस दिन शिवम् सिमेन्टका लगानीकर्ता सर्वा्धिक ९.९० प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सर्वा्धिक ५.५९ प्रतिशत सेयर मूल्य गुमाए ।

आज बिहान मात्रै मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई आहृवान गरेका थिए । मुलुकको आर्थिक गतिविधिलाई तरंगित बनाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई उनले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्