सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या १६, सोमवार घाम लागेपछि केही राहत  

काठमाडौं । सप्तरीमा थप २ जनाको मृत्यु भएपछि शितलहरका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पछिल्लो पटक खडक नगरपालिका–७ खोरियाका ६० वर्षीय प्रेमकुमार माझी र तिलाठी–कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय नारायण मुखियाको चिसोका कारण मृत्यु भएको हो। स्थानीय प्रशासनले भने हालसम्म चिसोले मृत्यु हुनेको संख्या ५ जना पुगेको पुष्टि गरेको छ।

यसअघि शीतलहरका कारण ७ महिने बालकसहित १४ जनाको मृत्यु भएको थियो। चिसोले कठ्याङ्ग्रिएर हालसम्म कञ्चनरुप–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेख, वडा नम्बर ७ का ६१ वर्षीय उत्तम मरिक ९डोम०, खडक नगरपालिका–८ मुसरनियाका ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर, डाकनेश्वरी नगरपालिका ८ का ५५ वर्षीय झौली यादवको मत्यु भएको छ।

यसैगरी, तिलाठी–कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, वडा नम्बर ७ का ३६ वर्षीय शिवु मण्डल, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम, वडा नम्बर १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको छ।

घाम लागेपछि राहत

सोमवार बिहानैदेखि झलमल्ल घाम लागेपछि सप्तरीमा राहत महसुस गरिएको छ। एक साता अघिदेखि बाक्लो हुस्सु शीतलहर खेपिरहेका स्थानीयबासी पारिलो घाम लागेपछि घर बाहिर निस्किएका छन्। बजारहरुमा चहलपहल सुरु भएको छ।

जाडोले घरभित्रै कुँजिएका वृद्धवृद्धा घाम ताप्न घरबाहिर निस्केका छन्। पारिलो घाम लागेपछि कठ्याङ्ग्रिदै विद्यालय जान विवश निजी विद्यालयका बालबालिका खुसी देखिएका छन्।

प्रहरीले बाल्यो आगो

चिसोले जनजीवन कष्टकर भएपछि प्रहरीले आइतबार जिल्लाका करिव १ सय ठाउँमा आगो बालेको जनाएको छ। डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार इलाका प्रहरी कार्यालय रुपनी, हनुमाननगर, भारदह, पातो, भेडिया, कञ्चनपुर, महुली, कल्याणपुर, ठेलीया, सखडा, कडोरवना लगायतका स्थानमा आगो बालिएको छ।

यसैगरी, सुरक्षा बेस क्याम्प लोहजरा, वडा प्रहरी कार्यालय राजविराज, प्रहरी चौकी तिलाठी, फत्तेपुर, पकरी, तिलाठी, धरमपुर, डिमन, गोईठी, मौवाह, धाति लगायतका प्रहरी युनिटले विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्