राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध

काठमाडौं, २३ भदौ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभिरमा पहिरो खस्दा आइतबार दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

घोप्टेभिरमा कालीगण्डकी नदीले तलबाट कटान गर्ने र सडकभन्दा माथिबाट पहिरो खसेर बेनी–जोमसोम सडकखण्ड अवरुद्ध बनेको मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलबहादुर कार्कीले जानकारी दिए । उनले अवरुद्ध सडक खुलाउनका लागि मुस्ताङमा उपलब्ध सबै स्रोतसाधनहरु प्रयोग गरिएको पनि बताए ।

नदी कटान र पहिरो खसेर कडा चट्टान देखिएपछि अवरुद्ध सडक खुलाउन ब्लाष्टिङको तयारी थालिएको मुस्ताङ प्रहरीले जनाएको छ । जिल्लास्तरीय सुरक्षा निकायको बैठकको निर्णय अनुसार विष्फोटक पदार्थको प्रयोग गरी सडक खुलाउने तयारी भैरहेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ । अवरुद्ध बेनी–जोमसोम सडक खुल्न केही समय लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

सडकखण्ड अवरुद्ध हुँदा हिमाली जिल्ला मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको छ । सडक अवरुद्ध भएपछि म्याग्दीको बेनीसहित देशका विभिन्न स्थानबाट मुस्ताङका लागि छुटेका सवारीसाधनहरु दानाको काभ्रे र मुस्ताङको जोमसोमबाट छुटेका सवारी साधन घाँसामा रोकिएका छन् ।

सडक अवरुद्ध बनेपछि मुस्ताङ भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटकहरु, प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शन र कागबेनी तीर्थयात्रामा निस्किएका धार्मिक पर्यटक, सर्वसाधारण, उद्योगी, व्यापारी र कर्मचारीले सास्ती भोगिरहेका छन् ।

यसैगरी मुस्ताङको विभिन्न ठाउँमा उत्पादित स्याउ ढुवानीमा समेत व्यापारीहरुलाई समस्या भएको छ । घोप्टेभिरमा यसअघि पनि पहिरो जाँदा बेनी–जोमसोम सडक अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्