जाजरकोटमा नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

काठमाडौं । जाजरकोटमा एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दा सम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् ।स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताएका छन् ।

जिल्ला बाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म त्यहा नपुगेको प्रेम न्यौपानेले बताए। रोग प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुग्न नसकेको उनले बताए । स्वास्थ्य संस्थामा मात्र उपचार कार्य जारी छ उनले भने ।
अहिले स्वास्थ्य संस्थामा आफूमात्र भएको र आज मात्र १४५ जना बिरामीलाई स्वास्थ्य चौकीमा नै सामान्य जाँच गरेको सिंहले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले पाँचजनाको भाइरलका कारण मृत्यु भएको पुष्टि गरेका छन । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालनका लागि सदरमुकामबाट औषधि झिकाएको बताए ।

ज्वरो र रुघाखोकीले ८०० भन्दा बढी गाउँले बिरामी परेका छन् । स्वास्थ्य चौकीमा दैनिक २०० भन्दा बढी भाइरलका बिरामी आउने गरेको छन् ।
अत्यधिक चिसो मौसमका कारण यहाँका स्थानीयवासी बिरामी हुने गरेका छन् । दैनिक खानेकुरा र कपडा लगाउने लगायतका विषयमा ध्यान नदिँदा स्थानीयवासी बिरामी हुने गरेका छन् ।

बालबालिका चिसो मौसममा राति परेको तुषारो बरफ भनेर खाँदा बढी बिरामी हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । वृद्धवृद्धाको चिसो खप्न नसक्दा मृत्यु हुने गरेको छ । अधिकांश गाउँले बिरामी हुनेबित्तिकै उपचारका लागि स्वास्थ्य संस्थाभन्दा धामीझाँक्रीकहाँ जाँदा अकालमै मृत्यु हुने गरेको छ ।
सँगै प्रभावित क्षेत्रमा थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटबाट डा पवन शाक्यको नेतृत्वमा थप टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्