घर मर्मतका लागि दुई सय ५३ मुक्त हलिया परिवार छनोट

घर मर्मतका लागि कञ्चनपुरका २५३ मुक्त हलिया परिवार छनोटमा परेका छन् ।  मुक्त हलिया पुनः स्थापन समितिको बैठकले प्रमाणीकरणमा परेका ‘ख’ र ‘घ’ श्रेणीका परिवारलाई घर मर्मतका लागि छनोट गरेको हो । झोपडीमा बस्दै आएका दयनीय अवस्था भएका परिवारलाई घर मर्मतका लागि छनोट गरिएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष एवं पुनःस्थापन समितिका सदस्य सिवी लुहारले बताए ।

छनोटमा परेका परिवारलाई भूमि सुधार कार्यालय कञ्चनपुरमार्फत घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले किस्ताका रुपमा रकम उपलब्ध गराइने छ ।

उहाँका अनुसार घर मर्मतका लागि भीमदत्तनगरपालिकाका ६३, संकरपुरका १३, लक्ष्मीपुरका दुई, श्रीपुरका नौ, रैकवार विचवाका नौ, रामपुर विलासीपुरका पाँच, रौतेली विचवाका पाँच, देखतभूलीका पाँच परिवार छनोटमा परेका छन् ।

यसैगरी, बेलडाँडीका १०, पिपलाडीका २०, कालिकाका ३७, कृष्णपुरका २४, झलारीका ३१ र सुडाका २० परिवार घर मर्मतका लागि छनोटमा परेका छन् । छनोटमा परेका परिवारलाई केही दिनभित्रै पहिलो किस्ताको रकम उपलब्ध गराइने जिल्ला भूमिसुधार कार्यालय कञ्चनपुरले जनाएको छ ।

लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ४९७ मुक्त हलिया प्रमाणीकरणमा परि परिचयपत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्