ग्यास सिलिण्डर पड्कँदा धादिङमा चार घर ध्वस्त
काठमाडौं, भदौ २० । धादिङमा ग्यास सिलिण्डर पड्कँदा ४ घर जलेर नष्ट भएका छन् । विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएका हुन् ।
लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।
ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताए ।
यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ । वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस्