धनकुटामा जारी आमहड्ताल केही खुकुलो, बजार बन्द यथावत
काठमाडौं । निरन्तरको बन्दले कोशी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएपछि धनकुटामा जारी आमहड्ताललाई केही खुकुलो बनाइएको छ ।
पाँच दिनदेखि जारी आमहड्ताललाई केही खुकुलो बनाउँदै बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म सवारी साधन सञ्चालन गर्न दिइने भएको हो ।
प्रादेशिक राजधानी धनकुटा बनाऔं अभियान समितिले यातायातका साधन सञ्चालनमा केही खुकुलो गरिए पनि बजार बन्द भने यथावत् राख्ने जनाएको छ ।
प्रदेश नं। १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै धनकुटेलीले तीन साता यता चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले पाँच दिनदेखि आमहड्ताल नै गरेर आन्दोलन चर्काएका छन् ।
निरन्तरको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि अभियान समितिका संयोजक तथा प्रदेशसभा सदस्य निरन राईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारेको संघर्ष समितिका प्रवक्ता नगेन्द्र राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्