डोटी र धनकुटमा प्रदेश राजधानीको माग गर्दै सुरु भएको आमहडताल अझै जारी

काठमाडौं । धनकुटालाई प्रदेश नं। १ को राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटाबासीले सुरु गरेकोे आमहड्ताल आज चौथो दिन पनि जारी छ ।

आन्दोलनकारीले आजबाट बजार, यातायातसहित शैक्षिक संघसंस्था, वित्तीय संघ संस्था, गैसस, सरकारी कार्यालयसँगै जिल्लाका सात वटै स्थानीय तह ठप्प पारेका छन् ।

हिजो साँझ प्रादेशिक राजधानी अभियान समितिका संयोजक प्रदेशसभा सदस्य निरन राईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले आमहड्ताललाई अझ कडा बनाएर लाने निर्णय गरेको थियो ।

धनकुटा सदरमुकाम वाहेक हिले, सिँधुवा, जीतपुर बजारसहित गाउँका अन्य बजार बन्द छन् ।

रातको समयमा समेत यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचल्दा कोशी पहाडका धनकुटा सहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ ।

यसैबीच प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल बनाउनुपर्ने माग गर्दै दिपायलमा शुरु भएको आमहड्ताल आज पनि जारी छ । आमहड्तालका कारण डोटीको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्