अवैधानीक रुपमा राखिएका ९ बालबालिकाको उद्दार
काठमाडौं , भदौ ४ ।अवैधानिक रुपमा राखिएका ९ बालकको उद्दार गरिएको छ । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको खुलेको छ ।
बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको फेला परेको हो ।
वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले बताए ।
बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै उनले यस विषयमा अनुसन्धान गर्ने जानकारी दिए ।
यता बालबालिकालाई पढाउने भनेर ल्याएको तर पढ्न नपाएको बालबालिकाहरुले बताएका छन् । संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।
बालबालिका राख्ने संस्थाको निश्चित मापदण्ड भए पनि पालना नभएको पाइएको प्रहरीले बताएको छ । त्यहाँ द्वन्द्वपीडित अभिभावककका बालबालिकालाई पढाइदिने भनेर ल्याएको पाएको छ ।
प्रतिक्रिया दिनुहोस्