जलाधार र स्वास्थ्य संस्था निर्माणमा उपमहानगरपालिका
घोराही । घोराही उपमहानगरपालिकाले ६ वटा स्थानमा जलाधार संरक्षणका लागि ड्याम निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभा बाट पारित जलाधार संरक्षण अन्तरगत ६ स्थानमा ड्याम निर्माण गर्ने निर्णय गरेको हो ।
जस्का लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । जस अन्तरगत वडा नम्बर ५ को तुईखोलामा १५ लाख, वडा नम्बर १२ को सिस्नेरीमा २५ लाख, वडा नम्बर १३ को ज्यामीरेमा ५५ लाख, वडा नम्बर १७ गुलरीयामा ४० लाख, ढिकपुरमा ४५ लाख र वडा नम्बर १८ को गिठेपानीमा २० लाख गरि २ करोड रुपैयाँ खर्च गरेर जलाशय निर्माण गर्ने निर्णय गरेको हो
साथै नगर कार्यपालिकाको बैठकले अन्य ४ वटा जालधार क्षेत्रको मर्मतका लागि ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । वडा नम्बर १६ को गंगटे ड्याम मर्मत तथा निर्माका लागि ३५ लाख, १७ को आरोग्य ड्याम मर्मतका लागि ५ लाख, वडा नम्बर १८ का डवरी र अम्वापुरको पाँच पाँच लाख गरि ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ ।
साथै नगरस्तरीय तथा वडास्तरीय सम्पूर्ण आयोजनाहरुको अनुगमन गरि प्रभावकारी आयोजना कार्यान्वयनमा सघाउ पु¥याउने गरि उपप्रमुख सीता न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय योजना अनुगमन तथा जांचपास समिति गठन गरेको छ ।
सदस्यहरुमा लछिनप्रसाद बुढा, पशुपति चौधरी, सम्वन्धित वडाको वडाध्यक्ष र सदस्य, एक जना प्राबिधिक र शहरी पूर्वाधार विकास महाशाखा प्रमुख सदस्य सचिब रहने गरि समिति बनाईएको छ ।
यसैगरी पूँजीगत निर्माण तर्फ जग्गा खरिद आयोजनामा विनियोजन भएको एक करोड पचास लाख रुपैयाँको कार्यान्वयनका लागि प्रशासनिक तथा व्यवस्थापकीय प्रक्रिया अगाडि बढाइ सिफारिश गर्न आर्थिक विकास समितिका संयोजक राममणि पाण्डेयको संयोजकत्वमा पाँच सदस्यि समिति गठन भएको छ ।
समितिको सदस्यमा कार्यपालिकाका सदस्य बिमला गन्धर्व, सम्वन्धित वडाको वडाध्यक्ष र सदस्य, आर्थिक प्रशासन महाशाखा प्रमुख र सार्वजनिक खरिद शाखा प्रमुख सदस्य सचिबलाई तोकिएको छ । साथै उपमहानगरले ६ स्थानमा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने गरि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
वडा नम्बर १८ मा हात्तिखर्क नगर स्वास्थ्य केन्द्र, वडा नम्बर १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नम्बर ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नम्बर ९ को आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, वडा नम्बर ११ मा शिबपुर नगर स्वास्थ्य केन्द्र र वडा नम्बर १८ को घोरदौरामा नगर स्वास्थ्य केन्द्र स्थापना गर्ने निर्णय भएको हो ।
साथै सौडियार, धर्ना, नारायणपुर, रामपुर र हापुर स्वास्थ्य चौकीको मर्मतका लागि ८० लाख रुपैयाँ बजेट छुट्याईएको छ । त्यस्तै खोप केन्द्र स्थापनाका लागि ९ लाख रुपैयाँको व्यवस्था गरिएको छ । हर्नोक, पाँच पोखरी र दक्षिण तेघरा बाह्य खोप केन्द्र निर्माण गरिने भएको हो ।
नगर कार्यपालिकाको बैठकले घोराहीमा योग हल निर्माण कार्यका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, नारायणपुरमा नागरायणपुर उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको महोत्सवलाई अनुमति दिने निर्णय भएको छ ।।
प्रतिक्रिया दिनुहोस्