वन्यजन्तु तस्करीमा प्रहरी नै संलग्न, बाघको छालासहित सशस्त्रका जवान समातिए

काठमाडौं, साउन २५ । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ।

शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलंगा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको हो। प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इन्च लामो तथा १० इन्च चौडा छाला बरामद गरेको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए।

हिकिला–२ का बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन्। झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा छाला बरामद गरिएको हो।

उनलाई आवश्यक अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई जिम्मा लगाइने कठायतले बताए।

प्रतिक्रिया दिनुहोस्